Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

RRC

RRC

     वैदिक मन्त्रद्रष्टा ऋषिहरूले तपस्या गरी विभिन्न मन्त्रहरूको दर्शन गरेको पावन भूमि नेपाल संस्कृत वाङ्मयको उद्गम थलो हो । यो हिन्दू, बौद्ध, बोन, जैन, किराँतलगायत विविध सांस्कृतिक समूहहरूको उद्गम भूमि पनि हो । नेपाल अनादि कालदेखि हिमालयको उपत्यकाबाट विश्वकै प्रथम संस्कृतिको उद्घोष गर्ने महर्षिहरू र तिनको जीवनदर्शनले निर्माण गरेका विविध परम्पराहरूको साक्षी रहँदै आएको छ । नेपालमा विभिन्न धार्मिक स्थलहरू छन् । देवघाटधाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्त्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रूपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट प्रवाहित त्रिशूली नदीको पावन सङ्गम भएकाले यहाँ पर्व-पर्वमा देवताहरू पनि स्नान गर्न आउँछन् भन्ने मान्यता रहेको छ ।
     यसै पुण्यभूमिमा वैदिक सनातन धर्म र आर्ष संस्कृतिको संरक्षण, संवर्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ परमगुरु अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराज एवं श्रोत्रिय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा) को शुभाशीर्वाद प्राप्त भई परमश्रद्धेय श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको शिवसंकल्प अनुसार एक विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । वि. सं. २०५० सालमा संघ-संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको यस आश्रमको संञ्चालनका लागि विधान अनुसार संस्थापक स्वामीज्यूको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समितिको गठन गरी प्रचलित संस्था सञ्चालन नियमावली अनुसार आश्रम सञ्चालन हुँदै आएकोमा संस्थापक स्वामीज्यूको ब्रह्मसायुज्यपश्चात् वहाँकै कृपाप्राप्त शिष्य श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा संस्थाका सम्पूर्ण गतिविधिहरू सञ्चालित छन् । राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म र मौलिक नेपाली संस्कृतिको संरक्षण संवर्धन अपरिहार्य रहेको हृदयङ्गम गर्दै संस्कृत वाङ्मयको प्रामाणिक शिक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ महेश संन्यास आश्रमले देवघाटधाममा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुल (MAHESH SANSKRIT GURUKUL) एवं महेश संस्कृत गुरुकुल विद्यापीठ (MAHESH SANSKRIT GURUKUL VIDHYAPEETH) स्थापना गरेको हो ।
     वर्तमानमा युगीन आवश्यकताअनुसार संस्कृत वाङ्मयका प्राचीन ज्ञानविज्ञानको आधुनिक पद्धतिले अनुसन्धान गरेमात्र प्रविधिमैत्री नयाँ पुस्तालाई प्रशिक्षित गर्न सकिने भएको छ । यसका साथै नेपालको प्राचीन ज्ञानगौरवलाई विश्वसामु परिचित गराउन र यसको ज्ञानसम्पदाबाट विश्वलाई लाभान्वित तुल्याउन समेत संस्कृत वाङ्मय एवम् नेपाली माटोमा हुर्केका विविध सांस्कृतिक परम्पराहरूको गहन अनुसन्धान अपरिहार्य बनेको छ । यो आवश्यकताको पूर्ति एउटै गुरुकुलबाट मात्र नहुने भएकाले महेश संन्यास आश्रमले नेपालभरका गुरुकुलहरूमा उत्पादित जनशक्तिलाई विश्वस्तरीय अनुसन्धान कार्यमा संलग्न गराउन र परस्पर सहकार्यको आधार उपलब्ध गराउनका लागि अनुसन्धान केन्द्रको अवधारणा अघि बढाएको हो । अनुसन्धान केन्द्रका शिवसङ्कल्पकर्ता सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नाममा अनुसन्धान केन्द्रका प्रस्तावक महेश संन्यास आश्रमका वर्तमान अध्यक्षको अवधारणा अनुसार नेपालको सनातन ज्ञानसम्पदा, बृहत्तर संस्कृत वाङ्मय र परम्परागत ज्ञानविज्ञानका विविध पक्षहरूको आधुनिक प्रविधिले अध्ययन, अनुसन्धान गर्ने अनुसन्धान केन्द्रको रूपमा वि.सं २०७८ आषाढ ६ गते गङ्गादशहराको दिन प्रातः ९:४१ बजे ब्रह्मवित् परमहंस सन्तहरूको पावन हस्ताक्षरबाट केन्द्र स्थापनाको औपचारिक निर्णय र घोषणा भएको हो ।